
राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ।
आफ्नो उम्मेदवार नरहेको अवस्थामा राप्रपाले रुपन्देही-२ मा चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो।
राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै रुपन्देही-२ मा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई मत दिने आह्वान गरेका हुन् ।
विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरतासमेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवं उद्योगी चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौं।’
यस क्षेत्रमा कांग्रेसबाट पौडेल, एमालेबाट बिष्णु पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट सुभाष (विश्वदीप) पाण्डेसहित ३९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।