काठमाडौं, फागुन १९ :

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सीमा नाकाहरू बन्द हुँदा अत्यधिक चहलपहल हुने सबै सीमा नाका सुनसान छ । 

यो अवधिमा सीमाबाट पैदलयात्री, मालबाहक तथा यात्रुबाहक सवारी साधनको आवतजावतमा रोक लगाइएको छ । फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।

एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।