
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको पद तथा शपथ ग्रहण फागुन २५ गते हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
संसद् सचिवालयले सदस्यहरूलाई औपचारिक वा पहिचान झल्कने पोशाकमा आउन र प्रमाणपत्रहरू लिएर जान निर्देशन दिएको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।
गत माघ १९ मा भएको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट ८३ वर्षीय महन्थ ठाकुर, धमेन्द्र पासवान,रन्जित कर्ण, रेखा झा,लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री , कर्णाली प्रदेशबाट ललितजंग शाही ,कोशी प्रदेशबाट सुनीलबहादुर थापा,रोशनी मेचे, सोम पोर्तेल बागमती प्रदेशबाट गीता देवकोटा, डा. प्रेम दंगाल ,लुम्बिनी प्रदेशबाट वासुदेव जंगली ,चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही, मिना रखाल, सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन् ।निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए ।