
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भइन् ।चितवन- ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम सर्वाधिक मत ल्याएर विजयी भएकी छन् ।
आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल तीन हजार ४०६ मध्ये महिला उम्मेदवार ३८८ जना छन् ।