
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि जी–७ देशहरूले विश्वव्यापी ऊर्जा आपूर्ति कायम राख्न आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्।
तर जी–७ का अर्थमन्त्रीहरू र अन्तराष्ट्रिय उर्जा एजेन्सीबीच भएको बैठक कुनै रणनीतिक कच्चा तेलको भण्डार सार्वजनिक रूपमा खुला गर्ने सहमतिबिना नै टुंगिएको छ।
तेलको मूल्य सोमबार प्रति ब्यारेल करिब १२० डलरसम्म पुगेको थियो।
आपूर्ति लामो समय अवरुद्ध हुन सक्ने डरका कारण विश्वभरका सेयर बजारहरू पनि घटेका छन्।
भर्चुअल बैठकमा तेल भण्डारबाट तेल निकाल्ने विकल्पसहित विभिन्न उपायबारे छलफल भएको थियो। अन्तराष्ट्रिय उर्जा एजेन्सीका प्रमुख फटिह बिरोलले पछिल्ला दिनहरूमा विश्व तेल बजार खस्कँदै गएको बताएका छन्।
बिरोलका अनुसार स्ट्रेट अफ हर्मुज हुँदै तेल ढुवानीमा समस्या आउनुका साथै ठूलो मात्रामा तेल उत्पादन पनि घटाइएको छ। यसले बजारमा ठूलो र बढ्दो जोखिम सिर्जना गरिरहेको छ।
एजेन्सीका सदस्य राष्ट्रहरूसँग अहिले १.२ अर्ब ब्यारेलभन्दा बढी सार्वजनिक आपतकालीन तेल भण्डार छ, साथै सरकारी दायित्व अन्तर्गत उद्योगहरूका करिब ६० करोड ब्यारेल अतिरिक्त भण्डार पनि रहेको छ।
बैठकपछि फ्रान्सका अर्थमन्त्री रोनाल्ड लेसक्युरले आपतकालीन भण्डार प्रयोग गर्ने विषयमा अहिले त्यहाँसम्म पुगेका छैनौं भनेका छन्।
यदि भण्डारबाट तेल निकालियो भने यो सन् २०२२ पछि पहिलो पटक हुनेछ। जब रसिाले युक्रेनमा पूर्ण आक्रमण गरेपछि यस्तो कदम चालिएको थियो।
बैठकपछि जारी वक्तव्यमा जी–७ ले भनेको छ कि हामी ऊर्जा आपूर्तिलाई सहयोग गर्न आवश्यक उपायहरू जस्तै भण्डारबाट तेल निकाल्ने विकल्पसहित,अपनाउन तयार छौं।
यस क्षेत्रबाट ऊर्जा आपूर्ति ठूलो रूपमा अवरुद्ध भए विश्वभरका उपभोक्ता र व्यवसायका लागि मूल्य बढ्ने खतरा छ। बढ्दो मुद्रास्फीतिका कारण केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने निर्णय कम गर्न सक्छन्।
सामान्य अवस्थामा विश्वको करिब पाँचौं भाग तेल आपूर्ति स्ट्रेट अफ हर्मुज हुँदै ढुवानी हुन्छ। तर युद्ध सुरु भएको एक हप्ताभन्दा बढी समय भइसक्दा यो साँघुरो जलमार्गबाट हुने आवतजावत लगभग ठप्प भएको छ।
सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमा नयाँ हवाई आक्रमणहरू गरेका छन्, जसमा तेल भण्डारण केन्द्रहरू पनि निशाना बनाइएका छन्।
यसैबीच इरानले छिमेकी खाडी राष्ट्रहरूको ऊर्जा पूर्वाधारलाई लक्ष्य बनाएको छ। रातभरि साउदी अरेबियाले एउटा ठूलो तेल क्षेत्रमा जाँदै गरेका ड्रोनका दुई चरणका आक्रमणहरू अवरोध गरी नष्ट गरेको जनाएको छ।