
काठमाडौं, फागुन २६ :
एसियाली विकास बैंकले नेपाललाई करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।
यो रकम डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन र नागरिक तथा व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न प्रयोग गरिने जनाइएको छ। यसले आधुनिक र प्रयोगकर्ता–मैत्री सेवाका लागि मुख्य डिजिटल सार्वजनिक पूर्वाधार विकास गर्न सहयोग पुर्याउने एडीबीले जनाएको छ ।
एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड काउचोइसले नेपालमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न र नेपालको आर्थिक विकासलाई सहयोग गर्न डिजिटल रूपान्तरण अत्यन्त आवश्यक भइसकेको बताए । ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ दक्षिण एसियामा पहिलो परियोजना हो ।