
दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरुले काठमाडौंमा खवरदारीसहित प्रदर्शन गरेका छन् ।
देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरुको न्यायका लागि भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा खबरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषण विरुद्ध एक हौं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरु संसदमा पुगेकाले अब दलितहरुको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले यसअघि सडकमा बसेर संगै आन्दोलन गरेकाहरुले संसद र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने जनाएका छन् ।