
गैर आवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ ।
सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
एनआरएनएका अध्यक्ष द्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइ सकेका छन् ।
‘मेरो सुरुदेखि नै भनाइ संस्था एकता बद्ध हुनुपर्छ भन्ने थियो । सोहीअनुसार संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको छु । सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा मैले मनोनयन दर्ता गराएको छु,उनले भने । उनलाई १३औँ महाधिवेशनमा अध्यक्ष बनाउने सहमति समेत भएको स्रोतको दाबी छ ।
सहमति बनेपछि अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताउँदै अहिले शेरचनले फिर्ता लिएको र अन्य आकाङ्क्षीहरूलाई पनि मिलाएर चुनाव नगर्ने तर्फ आफूहरूको ध्यान रहेको बताए ।
केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिवारदेखि १२ औँ महाधिवेशन सुरु हुँदैछ । यसैबिच सहमतिको वातावरण बने सँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ ।