काठमाडौं, चैत १ :

सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।  

साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ ।न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासको यो आदेशसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहेको छ ।

योसँगै नेकपाका उम्मेदवार मातृका यादव निर्वाचित हुने भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर भएको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी साह अन्तरिम आदेश माग गरी सर्वोच्च गएका थिए । आयोगले फागुन १८ गते साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएपछि उम्मेदवारी खारेज गरेको थियो।