बर्दिया, चैत २ :

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना सम्पर्कविहीन भएका छन्। फागुन २३ गते शिकार खेल्न निकुञ्ज क्षेत्रतर्फ गएका उनीहरू १० दिन बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारले प्रहरीसँग खोजीका लागि आग्रह गरेका हुन्।

सम्पर्कविहीन हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र ३० वर्षीय सुनिल समसेली रहेका छन्। यस्तै सुर्खेतको लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिँजाली पनि सम्पर्कविहीन भएका छन्।

उनीहरू हराएको सूचना आज मात्रै प्रहरीलाई प्राप्त भएको हो। हाल बाँके र सुर्खेत प्रहरीले संयुक्त रूपमा उनीहरूको खोजी कार्य अघि बढाइरहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।