
प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरिक्षण गरेकी छन् । सोमबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरिक्षणसहित जानकारी लिइन् ।
सो क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज सेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। त्यस्तै उनले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए । नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रुपमा सेवा लिन सकिने उनले बताए ।
सेवा प्रवाहको नवीनतम मोडेललाई अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ प्रधानमन्त्रीले जानकारी लिएको पौडेलले उल्लेख गरे । निरिक्षणमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी थिए ।