काठमाडौं, चैत ३ :

नेपाली कांग्रेसको संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा अन्योल देखिएको छ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएका पार्टी सभापति गगनकुमार थापा नै पराजित भएपछि अन्योलता सिर्जना भएको हो ।

सर्लाही–४ मा उठेका सभापति थापा पराजित भएका थिए ।  शीर्ष तहका नेताहरू सबै पराजित भएपछि संसदीय दलको नेता कसलाई बनाउने भन्नेमा अलमल भइरहेको छ । स्रोतका अनुसार कांग्रेसका निर्वाचित सबैले आकांक्षा देखाएका छन् ।

कसलाई दलको नेता बनाउने भन्ने विषयमा अहिलेसम्म केही टुंगो नलागेको एक नेताले बताए । जेष्ठ सदस्य अर्जुननरसिंह केसीलगायत , भीष्मराज आङ्देम्बे , भरतबहादुर खड्का, जनकराज गिरी, मोहन आचार्य र नरेन्द्र केरुङले पनि दलको नेतामा आकांक्षा देखाएका छन् ।

कांग्रेसबाट धेरै पटक सांसद तथा मन्त्री भइसकेका व्यक्ति भने केसी नै हुन् । तर,  केसी र आङ्देम्बेबीच नै गुटगत प्रतिस्पर्धा हुने देखिएको छ ।