काठमाडौं, चैत ४ :

बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा आफ्नो ट्रेडमार्क चोरी भएको भएको भन्दै उजुरी दिएपछि उद्योग विभागले ११ स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ। उद्योग विभागले ७ दिनभित्र लिखित जवाफ नआए कानुन बमोजिम एकतर्फी कारबाही गर्ने चेतावनी दिएको छ।  

कोकाकोला, जुम, ह्युगो बोस लगायतका ब्रान्डले ट्रेडमार्क चोरी भएको उजुरी गरेका हुन् ।कोकाकोला कम्पनीले प्रिमियर अर्गान्सको 'पलपल कोला' र पाथिभराको 'कुल कोला' तथा 'सुपर फ्यान्टास्टिक' विरुद्ध छुट्टाछुट्टै उजुरी दर्ता गराएको छ।

ट्रेडमार्क चोरी भएको उजुरीमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली उत्पादनमा आफ्नो नाम जोडिएको र हुबहु नक्कल गरिएको दाबी गरेका छन् ।नेपालमा पछिल्लो समय विदेशी स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर स्थानीय स्तरमा वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने प्रवृत्ति बढदै गएको छ । विशेषगरी गर्मीको मौसम सुरु हुँदै गर्दै विभिन्न किसिमका पेय पदार्थहरुको नक्कल गरी बिक्रीवितरण हुने गरेको छ ।