काठमाडौ, चैत ८ :

आइतबार बिहान नेविसंघ आस्थावान कार्यकर्ताहरुको एक टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि तथा वर्तमान नेतृत्वद्वारा सञ्चालित घटनाले संगठन र पार्टी दुवैको गरिमामा आँच पुर्‍याएको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएको छ ।

गत शुक्रबार दुजाङ शेर्पा नेतृत्वको नेविसंघको सिनेट बैठकले संगठन कार्यगत स्वायत्ततामा जाने निर्णय गरेको थियो । साथै आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय पनि भएको थियो । ती निर्णयमा प्रश्न उठाउँदै नेविसंघको अर्को पक्षले पार्टी महामन्त्री घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधिहरुलाई पार्टीले सुक्ष्म रुपमा नियालिरहेको बताउदै पार्टीको भ्रातृ संगठनको भूमिकाबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्ने चेतावनी समेत दिएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने उनले बताए ।

वि.सं. २०२७ सालमा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुन:स्थापना गर्न नेविसंघको स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टी भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उल्लेख गरे ।

उनले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थितिबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्नेकुरा पार्टीकै अधिकार क्षेत्रभित्रको कुरा हो । तर संस्थाको हकमा पार्टीले दिएको आवद्धता, पार्टीको सन्तान जस्तै हो । नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुन जान्छ । यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न सक्दैन ।’

नेपाल तरुण दल,नेपाल महिला संघ लगायतका अन्य भ्रातृ संस्थाहरुका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।