काठमाडौ, चैत ९ :

बेलायती प्रधानमन्त्री केयर स्टार्मर र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राति भएको फोन वार्तामा स्ट्रेट अफ होर्मुज पुनः खोल्नु विश्वव्यापी ढुवानी पुनः सुरु गर्न अत्यावश्यक भएकोमा सहमति जनाएका छन्।

यसअघि यही सप्ताहन्तमा ट्रम्पले चेतावनी दिँदै भनेका थिए कि यदि ४८ घण्टाभित्र स्ट्रेट खोलिएन भने इरानका ऊर्जा केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिनेछ। यो जलमार्ग किन तेल ढुवानीका लागि यति महत्वपूर्ण छ भन्ने प्रश्न उठिरहेको छ।

इरानले भनेको छ कि स्ट्रेट हाम्रो भूमि उल्लङ्घन नगर्नसबैका लागि खुला छ, तर यदि आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमण गरियो भने यो जलमार्ग पूर्ण रूपमा बन्द गर्न तयार रहेको चेतावनी पनि दिएको छ।

यसैबीच इजरायली रक्षा बल आईडिएफले इरान र हिज्बुल्लाहसँग अझ केही हप्तासम्म लडाइँ जारी रहने अपेक्षा गरेको बताउँदै लेबनानमा आफ्नो सैन्य कारबाही विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

पछिल्लो २४ घण्टामा इरानले गरेको मिसाइल आक्रमणमा इजरायलमा एक जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी व्यक्ति घाइते भएका आपतकालीन सेवाहरूले जनाएको छ।