
जेनजी आन्दोलन जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ । ९ सय ७ पृष्ठको उक्त प्रतिवेदन सरकारले सार्वजनिक गर्न आलटाल गरे पनि बुधबार सञ्चारमाध्यममा सार्वजनिक भएको छ।गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी माग भइरहँदा प्रतिवेदन बाहिरिएको छ ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ गर्न गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन निर्वाचन सम्पन्न भएको केही दिन पछि सरकारलाई बुझाएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे पनि औपचारिक रुपमा सार्वजनिक गर्न भने चासो देखाइनन्। प्रतिवेदनमा कारबाहीका लागि सिफारिस गरिएका कुराहरु छरप्रष्ट भएका छन् ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।त्यसो त घटनामा संलग्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका अधिकारीहरूलाई विभागीय तथा फौजदारी कारबाही गर्न सिफारिस गरेको छ।
कारबाही सिफारिस हुनेमा राष्ट्रपति भवन शितलनिवासको सुरक्षामा खटिएको टोलीका प्रमुख सहायक रथी मनोजकुमार वैदवार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खटिएका सुरक्षा टोलीका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षार्थ खटिएको टोलीका प्रमुख प्रमुख सेनानी गणेश खड्का छन् ।