काठमाडौं, चैत १२ :

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) दौरा-सुरुवाल, कालो टोपी र कोटसहित देब्रे छातीमा सिलाम साक्मा लगाएर बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका थिए ।

उनले देब्रे छातीमा लगाएको सिलाम साक्माको बारेमा यतिखेर सर्वत्र चर्चा भइरहेको छ । त्यसो त आजको शपथ ग्रहणमा हर्क साम्पाङ लगायत केही सांसदले पनि सिलाम साक्मा लगाएका थिए ।

बालेन निकट स्रोतका अनुसार उनलाई सिलाम साक्मा पहिलोपटक  साम्पाङले नै लगाइदिएका थिए । २०७९ चैत १५ गते काठमाडौंमा पहिलोपटक भेट हुँदा उनले  बालेनलाई सिलाम साक्मा लगाइदिँदै आत्मीयता साटेका थिए ।

लिम्बू समुदायको मौलिक र सांस्कृतिक विम्ब सिलाम साक्मालाई सुरक्षा कवचका रुपमा लिने गरिन्छ। सिलाम साक्मा मुटुको सुरक्षा कवचका रुपमा देब्रे छातीमै लगाइन्छ । छातीमा सिलाम साक्मा लगााउदा मान्छेको अकालमा मृत्यु हुँदैन, घरमा सिलाम साक्माको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिन्छ  भन्ने विश्वास छ । लिम्बू भाषामा ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु हो ।

सौर्य मण्डलमा रहेका बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी आठवटा ग्रहको प्रतीकका रुपमा सिलाम साक्मा आठै रङ प्रयोग भएको हुन्छ  ।