काठमाडौं, चैत १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालत पुगेर तारिख बुझेका छन्।

अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर तारिख बुझ्न सर्वोच्चले आदेश दिएको हुँदा उनी सिंहदरबारमा सांसदको शपथ लिए लगत्तै सर्वोच्च अदालतमा हाजिर भएका हुन्। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले वारेस राख्न नपाउने र आफै उपस्थित हुन आदेश दिएको थियो। उनीविरुद्धको अर्को पेसी जेठ १४ लाई तोकियो छ ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनीविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले तीन वर्षअघि अवहेलनाको मुद्दा दायर गरेकी थिइन् ।उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गर्दा उक्त आदेशविरुद्ध भारतलाई समेत जोडेर शाहले जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने जिकिर गर्दै सामाजिक सञ्जालमार्फत अदालतविरुद्ध कडा अभिव्यक्ति दिएका थिए ।