
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदैछन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । तर बिहान ८:३० बजेसम्म मन्त्रीमण्डलका सदस्यबारे कुनै जानकारी नआएको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले हिजो मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए ।
बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई सिंहदरबारस्थित बहुउद्धेश्यीय हलमा पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।