काठमाडौं, चैत १५ :

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेको छ ।  जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सरकारी वकिलको यो मागमाथि बहस भइरहेको छ ।

प्रहरीले म्याद थपका लागि पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको छ। पूर्वप्रधानमन्त्री ओली भने त्रिवि शिक्षण अस्पतालमै छन्। 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएका ओलीलाई स्वास्थ्यका कारण अदालतमा उपस्थित गराउन नसकिने भन्दै प्रहरीले ‘भिडिओ कन्फ्रेन्स’ मार्फत नै म्याद थप गरिदिन माग गरेको छ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो। दुवै जनामाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थप गराउन लागेको हो।

म्याद थप सम्बन्धी निवेदन जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा परेको छ। यस निवेदनमाथि आज सुनुवाइ हुनेछ। दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ।