
फाइल तस्बिर ।
हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे एक विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अस्पताल प्रशासनले जारी गरेको स्वास्थ्य विज्ञप्ति अनुसार, मिर्गौला प्रत्यारोपण पछिको अवस्थामा रहेका ओलीमा ‘हाइड्रोनेफ्रोसिस’, मधुमेह, उच्च रक्तचाप, थाइराइड र मुटुको धड्कन अनियन्त्रित हुने ‘एट्रियल फिब्रिलेसन’ जस्ता पाँच स्वास्थ्य समस्या छन्। उनको पित्तथैलीमा पत्थरी (Cholelithiasis) समेत रहेको विज्ञप्तिमा उल्लेख छ। हाल उनलाई अस्पतालको एनेक्स-१ को बेड नम्बर ५०१ मा राखेर चिकित्सकहरूको विशेष निगरानीमा उपचार भइरहेको छ।