
ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अस्पतालमै बयान लिइएको छ। पक्राउ परेकै दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीसँग प्रहरी र सरकारी वकिलले अस्पतालमै पुगेर बयान लिएका हुन्।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा प्रहरीले ओलीलाई निवासबाटै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अदालतले ओलीलाई हिरासतमा राख्न बिहीबार दुई दिन मात्रै म्याद दिएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रतिवादीलाई २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ।
बयानका क्रममा पूर्वप्रधानमन्त्री ओलीले हुलदंगा नियन्त्रण गर्ने विषय प्रधानमन्त्रीको नभएको जवाफ दिएका छन् । मैले गोली चलाउन आदेश पनि दिएको छैन। यो त जिल्ला सुरक्षा समितिले निर्णय गर्ने कुरा हो’, ओलीले बयानका क्रममा भनेको स्रोतले बतायो।
सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा ६-७ हजार मान्छे आउँछन् भन्ने सूचना आएको र प्रदर्शन शान्तिपूर्ण नै हुन्छ भनिएकाले आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन मात्रै आफूले भनेको उनले बयान दिएका छन्। जाँचबुझ आयोगलाई दिएजस्तै आरोप अस्वीकार गर्दै उनले बयान दिएका छन् । बयानका क्रममा प्रहरी र सरकारी वकिलले पूर्वप्रधानमन्त्री ओलीलाई करिब ४० वटा प्रश्न सोधेका थिए।