
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महिलालाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले विभिन्न सीपमूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडाद्वारा सञ्चालित महिलाहरूका लागि १५ दिने नौमती बाजा बजाउने तालिम समापन कार्यक्रममा आज उनले महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले सीपले मानिसलाई परिस्कृत र गरी खाने बनाउने भएकाले विभिन्न संस्थाको सहकार्यमा प्रदेश सरकारले सीपमूलक कार्यक्रममा गर्दै आएको बताए । उनले पञ्चेबाजा बजाउने तालिमले कला, संस्कृति र परम्पराको संरक्षणसँगै रोजगारी सृजनामा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुली कला घरले सञ्चालन गरेको तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो ।