
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको आज पनि निरन्तर सुनुवाइ हुने भएको छ ।
हिजो सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । हिजो ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ भने आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् ।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका काँग्रेस नेता तथा पूर्व गृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते निवेदन दर्ता गराएकी थिइन् ।
जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले ओलि र लेखक विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।