काठमाडौं, चैत २४ :

सरकारले विश्व बैंकबाट ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि विश्व बैंकले दिने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

अमेरिकाको वासिङ्टन डीसीमा मार्च १३ मा बसेको विश्व बैंकको बोर्ड बैठकले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहुलियत ऋण दिने निर्णय गरेको थियो ।

परियोजनाअन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थल रहेका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा विभिन्न काम गरिनेछ ।