काठमाडौं, चैत २५ :

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मियाँले सडक दुर्घटनामा वर्षेनी हजारौ नागरिकको ज्यान जाने गरेको भन्दै तत्काल सडक सुरक्षाका लागि आवश्यक सुधार कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले जलेश्वर बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसईई परीक्षा दिएर उज्ज्वल भविष्यको सपना बोकेर घर फर्कँदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्।

आगामी दिनमा यस्ता घटना दोहरिन नदिन जोखिमयुक्त सडक खण्डमा गति नियन्त्रण सूचना, सडकको समयमा नै मर्मत सम्भार लगाएतमा विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।

उनले ट्राफिक नियमको कडा कार्यान्वयन, युवा तथा विद्यार्थी सचेतना कार्यक्रमका साथै विद्यालय स्तरमै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गर्न माग समेत गरिन् ।

आपतकालीन उद्धार प्रणाली सुधार, दुर्घटना भएलगत्तै उद्धार र तत्कालै उपचारका लागि छिटो स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले गम्भीर भएर समयमा नै सुधार गर्न नसकिए यस्ता घटनाहरु दोहरिरहने भएकाले सवै जिम्मेवार बन्नुपर्ने धारणा राखिन।