काठमाडौं, वैशाख २ :

कागेश्वरी मनोहरा नगर अस्पतालले ओपीडी (बहिरंग सेवा) शुल्क सम्बन्धमा सामाजिक सञ्जालमा यथार्थभन्दा फरक सूचना फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। साथै, अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै सेवाशुल्कबारे स्पष्ट पारेको छ।

अस्पतालका अनुसार स्वास्थ्य बिमा भएका बिरामीले ओपीडी सेवा लिँदा कुनै शुल्क तिर्नु पर्दैन। यद्यपि, प्रति बिरामी रु. ५० बराबरको रकम बिमा दाबीमार्फत प्राप्त हुने व्यवस्था रहेको छ।

त्यसैगरी, स्वास्थ्य बिमा नभएका बिरामीका लागि ओपीडी सेवा शुल्क रु. १५० तोकिएको छ भने विशेषज्ञ चिकित्सक सेवा (EHS) अन्तर्गत जाँच गराउँदा रु. ३५० शुल्क लाग्ने जनाइएको छ।

अस्पतालले बिरामीले आफूले चाहेको स्तरको चिकित्सकबाट सेवा लिन सक्ने र सोहीअनुसार शुल्क तिर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ। विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दा सम्बन्धित चिकित्सकलाई सोहीअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने भएकाले उक्त शुल्क निर्धारण गरिएको जनाइएको छ।

अस्पताल प्रशासनका अनुसार अन्य सरकारी अस्पतालको तुलनामा यी सेवा शुल्क न्यूनतम नै रहेको दाबी गरिएको छ। साथै, यस्ता संवेदनशील विषयमा सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गर्नु अघि आधिकारिक स्रोत, विशेषगरी सूचना अधिकारीसँग तथ्य पुष्टि गर्न अनुरोध गरिएको छ।

अस्पतालले सेवाग्राहीका गुनासा सुन्न, सुझाव लिन र सेवा सुधार गर्न आफूहरू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यथार्थ सूचना सम्प्रेषण गर्न सबैसँग आग्रह गरेको छ।