
संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा विपक्षी दल नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरु सहभागी छन् ।
बैठकले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने-नदिनेबारे निर्णय लिनेछ । आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ । शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकिएको छ ।