काठमाडौं, वैशाख ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दुई संयुक्तसहित १० विषयगत समितिका सभापतिका नाम तय गरेको हो।

जसअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी चयन भएका छन्।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की चयन भएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी उम्मेदवार बनाइएका छन्। संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको नाम टुंगो लगाइएको छ।

यता, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय रास्वपाले गरेको छ।संसदीय समितिहरूको सभापतिका लागि निर्वाचन शुक्रबार हुने छ।