काठमाडौं, वैशाख ३ :

नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ पुगेको हो।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने वैदेशिक ऋण १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा मात्रै सरकारले ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर नयाँ ऋण लिएको तथ्यांकले देखाएको छ।

सार्वजनिक ऋणलाई देशको कुल जनसंख्या अनुसार विभाजन गर्दा प्रतिव्यक्ति ऋणभार १ लाख ५ सय ९४ रुपैयाँ पुगेको छ। हाल कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.६९ प्रतिशत रहेको छ भने आन्तरिक ऋण ४७.३१ प्रतिशत छ। यस्तै, कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋण ४८.०४ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋण २२.७३ प्रतिशत र वैदेशिक ऋण दायित्व २५.३१ प्रतिशत रहेको छ।