काठमाडौं, वैशाख ४ :

प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

माताको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र बताउँदै प्रधानमन्त्री शाहले आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उक्त सन्देश उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गर्दै जीवनका पहिलो गुरुका रूपमा आमाको भूमिकाको उच्च प्रशंसा गरेका छन् । उनले सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई सधैँ गर्व गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आमालाई सधैँ हँसाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।