काठमाडौं, वैशाख ४ :

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यसअघि ढकालले बिहीबार सांसद पुरुषोतम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थकमा सभापतिमा मनोनयन दर्ता गराएका थिए ।

समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि ढकालले समितिमा दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्ने बताए । विभिन्न कारणले यसअघि समितिहरुले काम गर्न नसक्ने अवस्थाको अब अन्त्य हुने उनले बताए।  उनले अहिलेको स्थिर सरकारलाई सघाउँदै र स्थिरतालाई कायम राख्न समितिको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

नवनिर्वाचित सभापति ढकालले समितिमा प्राप्त भएका उजुरीहरुलाई पनि प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्वपूर्ण विधेयकहरुमाथिको छलफललाई पनि प्रभावकारी बनाइने उल्लेख गरे ।