काठमाडौं, वैशाख ४ :

नेपाली कांग्रेसको संसदीय दल नेता चयनका लागि सहमति नभए प्रक्रियामार्फत अघि बढ्ने तयारी भएको छ । कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समिति र सांसदहरुबीच शुक्रबार सिंहदरबारमा भएको छलफलमा सहमति नभए प्रक्रियामार्फत अघि बढ्ने जानकारी गराइएको हो । 

छलफलपछि दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले सहमतिमा नै दलको नेता चयनका लागि आकांक्षी र नेतृत्वसंग छलफल गर्ने र सहमति हुन नसके प्रक्रिया अघि बढाउने जानकारी दिए । दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेका साथै केहि सांसदले दाबी प्रस्तुत गरेका थिए ।

त्यस्तै संयोजक प्रकाश रसाइली स्नेहीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र बृहत् एकता कायम गर्न दलको विधान संशोधन गरिने समेत जानकारी दिए । निर्वाचित भएपछि सम्पूर्ण पदाधिकारीहरु पनि दलको नेताले  चयन गर्ने व्यवस्थालाई परिमार्जन गर्ने बिषयमा पनि पार्टीका सांसदहरुलाई जानकारी गराइएको उनको भनाइ छ ।

उनले दलको नेता चयनसंगै विधान संशोधनको प्रक्रिया पनि संगसंगै अघि बढाइने धारणा राखे । छलफलपछि कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सहमतिमा नै दलको नेता चयन गर्न सदस्यहरुले जोड दिएको बताए ।