
सर्वोच्च अदालतले गगनकुमार थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै निर्वाचन आयोगको निर्णयलाई नै सर्वोच्चले सदर गरेको हो ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो । पक्ष-विपक्षको बहस सकेपछि अदालतले अन्तिम फैसला सुनाएको हो ।
यो फैसलासँगै शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ ।
पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको थियो । निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष माघ ४ मा सर्वोच्च अदालत गएको थियो ।
यसैबीच देउवा पक्षका नेता विमलेन्द्र निधिले सर्वोच्चले दिएको फैसलालाई स्वीकार नगर्ने बताएका छन् । निधिले अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा आफ्नो पक्षका नेताहरूसँग छलफल गरेपछि तय हुने बताए ।