
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलीमिटर र उदयपुरको गढीमा ४९.६ मिलीमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ ।
विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।
तराईमा तापक्रम बढ्दै
उता तराई क्षेत्रमा भने तापक्रम बढिरहेको विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भइरहँदा तराई क्षेत्रमा तातो बढिरहेको बताउनुभयो । यो क्रम अझै केही दिन रहने जनाइएको छ ।
विभागबाट प्राप्त विवरणअनुसार आज सबैभन्दा बढी अधिकतमक तापक्रम नेपालगन्जमा ३९, दिपायलमा ३८.८ र धनगढीमा ३८.२ डिग्री तापक्रम मापन भएको छ । काठमाडौँमा अधिकतम तापक्रम २८.४ डिग्री रहेको छ ।
वैशाख ६ गते कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।