पर्सा वीरगञ्जको मुख्य सडक दायाँबायाँ पर्ने अतिक्रमित संरचनाहरु भोली बिहान ४:३० बजेदेखि नै भत्काइदैछ ।
करिब १३ वर्षदेखि रोकिएको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकको दायाँ–बायाँ २५/२५ मिटर चौंडा बनाउन आवश्यक स्थानका संरचना भत्काउन लागिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
यसका लागि डोजर, जेसीबी र एक्साभेटर गरि १३ वटा उपकरणहरु तयारी अवस्थामा राखिएका बताईएको छ।
वीरगन्जको विभिन्न ५ स्थानबाट एकैसाथ डोजर लगाएर सडक विस्तारको काम सुरु गरिने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकहरुलाईआग्रह गरेको छ । पर्सा १ र २ का प्रतिनिधि सभा सदस्य, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, महानगर, वीरगञ्ज उद्योग वाणिज्य संघ, अन्य सरोकारवाहरु सम्मिलित शनिबार साँझ बसेको बैठक पछि प्रशासनले विज्ञप्ति मार्फत संरचना खालि गर्न आग्रह गरेको हो ।
सर्वोच्च अदालतले मिति २०८१ फागुन २८ गते अतिक्रमित संरचना भत्काउन आदेश दिएको थियो । सो फैसला बमोजिम संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन हेटौंडाले वीरगञ्ज महानगरसँग सहयोग माग गरेको बताउँदै यस कार्यमा सहयोग गर्न महानगरप्रमुख राजेशमान सिंहले सबैसँग आग्रह गर्नुभएको छ ।
डोजर चलाउन तय गरिएको क्षेत्रमा सरकारी कार्यालयका २९ वटा भवन तथा व निजी गरि करिब १ हजार २ सय को संख्यामा घर संरचनाहरु रहेका छन् ।