
औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर/एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो ।
विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ । वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् ।
वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताए । “आज बिहानैदेखि विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा जनजीवन प्रभावित भएको छ”, उनले भने, “स्थानीय प्रशासनले आवश्यक तयारीबिना सडक विस्तार गर्दा गर्मीयाममा सर्वसाधारण प्रभावित भएका छन् ।
बिजुली नहुँदा मोटर नचल्दा बोरिङबाट पानी निकाल्न नपाउँदा शौचालय जाने पानीको अभाव भएको छ ।”
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोले मितेरीपुलबाट गण्डक नहर सडक विस्तार गर्ने क्रममा विद्युतको नियमित आपूर्ति प्रभावित हुने बताए । “आजदेखि वैशाख ८ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने देखिन्छ”, उनले भने, “काबुबाहिरको मर्मत सुधार कार्यहरु बढी समय लाग्ने देखिने हुँदा बिहानैदेखि मर्मतसम्भार कार्य जारी रहेको छ ।” उनले विद्युत् सेवा प्रभावित हुने भएकाले आवश्यक धैर्यता अपनाउन पनि आह्वान गरे ।