
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय परिवर्तन गरी बन्द रहने अवधि बढाइएको छ। नयाँ व्यवस्था आज रातिदेखि लागू हुनेछ।
अब विमानस्थल हरेक दिन राति ११:४५ बजे बन्द भई बिहान ६:३० बजे मात्र सञ्चालनमा आउनेछ। यसअघि भने बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने व्यवस्था थियो, जसअनुसार दैनिक करिब ५ घण्टा मात्र बन्द रहने गरेको थियो।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार नयाँ व्यवस्थाअनुसार बन्द रहने समय बढाइएको हो। विमानस्थलले जारी गरेको नोटाम अनुसार धावनमार्ग नजिकै ट्याक्सीवे ‘ब्राभो’, ‘चार्ली’, ‘क्युबिक’ र ‘रोमियो’ क्षेत्रमा निर्माण कार्य गरिनेछ। सो अवधिभर विमानस्थल पूर्णरूपमा बन्द रहनेछ।
यो निर्णय ७ वैशाख राति ११:४५ बजेदेखि लागू भई जेठ ४ गते बिहान ६:३० बजेसम्म कायम रहनेछ। हरेक दिन सोही समयावधिमा उडान बन्द गरिने हुँदा विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित हुनेछन्। विशेषगरी खाडी मुलुक, भारत र टर्कीतर्फका उडानहरूको समय तालिका परिवर्तन गरिएको छ।
यसअघि पनि पूर्वाधार विस्तारका क्रममा विमानस्थलमा विभिन्न चरणमा उडान समय सीमित गरिएको थियो। विमानस्थलमा सन् २०२६ पछि वार्षिक करिब १ करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित पूर्वाधार विस्तारका काम तीव्र गतिमा अघि बढिरहेका छन्।