काठमाडौं, वैशाख ९ :

सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीलाई शपथ गराएकी हुन् भने अध्यक्ष भण्डारीले अन्य सदस्यहरूलाई शपथ गराएका हुन्।

सरकारले आयोगलाई एक वर्षको कार्यावधि दिएको छ। उक्त अवधिभित्र आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्नेछ।

आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व डीआईजी गणेश केसी तथा नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वअध्यक्ष प्रकाश लम्साल रहेका छन्।

गत साताको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। सरकारले २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने उद्देश्यले आयोग गठन गरेको हो।