
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ ।
कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ ।
त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेस गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेस भएको कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले जानकारी दिए । दलमा पेस भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको उनले बताए ।
त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताए । सहमति हुन नसके प्रक्रियाबाट दलको नेता चयन गरिने उनको भनाइ छ ।
दलको नेता चयनका लागि शुक्रबार ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ । त्यस्तै दिउँसा साँढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, अपरान्ह ४ देखि ५ बजेसम्म मतदान र मतदात सकिएपनि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य लगाएतको दाबी छ ।