बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

डेढ दशकपछि दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

· आइतबार, २१ असोज, २०८१ मा प्रकाशित
कञ्चनपुर, असोज २१ :

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।

सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णयपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिनुभयो ।

उहाँले अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने बताउनुभयो ।

सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मूल्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई  दिएपछि निकुञ्ज कार्यालयले रूख कटानको आदेश दिनेछ ।

बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार सात सय दुई रुख काटिनेछन्  । 

बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र काम सक्ने भारतीय पक्षले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार