काठमाडौं, वैशाख १५ :

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको चर्चासँगै त्यसका लागि तयारी थालिएको छ । भ्रमणको औपचारिक निम्तो दिन भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउँदैछन् । उनले प्रधानमन्त्री बालेनलाई भेटेर समकक्षी नरेन्द्र मोदीको भारत भ्रमणको निम्तो दिने बुझिएको छ ।

यद्यपि यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइँ दिँदै भारत भ्रमणका आमन्त्रण गरिसकेका थिए । मोदीको सो आग्रहलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेको

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले छिट्टै भारत भ्रमण गर्ने कुरा सार्वजनिक गरिसकेका छन् । उनले तिथिमिति भने तोकेका छैन । दुई देशका अधिकारीबीचको छलफल पश्चात मिति तय गरिने बताइएको छ । परराष्ट्रमन्त्री खनाल भारत भ्रमणबाट फर्केपछि मात्र बालेनको भ्रमणको मिति तय हुने स्रोतले बताएको छ ।

मिस्रीले दुई दिने नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनाल,अर्थमन्त्री स्वर्णिम वाग्लेले,परराष्ट्र सचिव अमृतबहादुर राईसहित अन्य केही मन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका शाहले भारतसँगको सीमा विवादलाई कसरी समाधान गर्छ भन्नेबारे धेरैको चासो छ ।

विगतमा उनले प्रधामन्त्रीको रूपमा केपी शर्मा ओली भारत भ्रमणमा जान लाग्दा ओलीलाई नेपालको नयाँ नक्साबारे कुरा गर्न सामाजिक सञ्जालमार्फत सल्लाह दिएका थिए । आज उनी आफ्नै सल्लाहलाई कार्यान्वयन गर्ने ठाउँमा पुगेका छन् । त्यसो त उनले दुई वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । तर अहिले भ्रमणको तयारी तीव्र रुपमा अघि बढिरहेको छ ।