सरकारले दोस्रो चरणअन्तर्गत आज बिहानदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउन सुरु गरेको छ । बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज बल्खु र वंशीघाट क्षेत्रका अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको हो ।
बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ । आज कूल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ ।
बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको हो ।
यसपछिको योजनाका सम्बन्धमा सरकारले स्पष्ट पार्दै अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।
बाँकी क्षेत्रमा रहेका सुकुमवासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले स्पष्ट पारिसकेको छ ।
पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइएको हो ।
जोखिमयुक्त बस्ती स्थान्तरणलाई सहज बनाउन त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ ।
रङ्गशालामा तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्वासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।