
काठमाडौंमा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान जारी रहँदा त्यसको प्रभाव आसपासका वैध घरधनीमा पनि देखिन थालेको छ। विशेषगरी दोस्रो चरणअन्तर्गत शुक्रबार बल्खु, माछापोखरी र शंखमूल क्षेत्रमा डोजर परिचालन भएसँगै नजिकैका नम्बरी जग्गाधनीहरू त्रसित बनेका छन्।
शंखमूलस्थित सुकुमवासी बस्ती आसपासका घरधनीहरूले आफ्नो घर कानुनी रूपमा दर्ता भएको पुष्टि गर्न भित्तामै स्पष्ट देखिने गरी लालपूर्जाको प्रतिलिपि टाँस्न थालेका छन्। उनीहरूलाई डोजरले वैध संरचना पनि भत्काउन सक्ने भयले यस्तो कदम चाल्न बाध्य बनाएको हो।
स्थानीयका अनुसार सुकुमवासी बस्ती हटाउने क्रममा स्पष्ट पहिचान र समन्वयको अभाव हुँदा नम्बरी जग्गामा बनेका घरहरू पनि जोखिममा पर्न सक्ने चिन्ता बढेको छ। “हामीसँग लालपूर्जा छ, तर पनि सुरक्षित छैनौं भन्ने डर लागिरहेको छ,” एक घरधनीले बताए।
सरकारले अवैध रूपमा बसेका बस्ती हटाउने कार्यलाई तीव्रता दिएको भए पनि त्यसको प्रभाव व्यवस्थापन र कानुनी रूपमा बसोबास गरिरहेका नागरिकको सुरक्षा सुनिश्चित गर्ने विषयमा थप स्पष्टता आवश्यक देखिएको छ।