काठमाडौं, वैशाख २० :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्नका निम्ति भवन निर्माणका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले  छिट्टै उपलब्ध गराउने बताएका छन्।

आइतबार मुलपानीस्थित नगर अस्पतालको अवलोकन गर्दै उनले सय शय्याको स्वीकृति छिट्टै दिने र भवन निर्माणका लागि बजेट दिने विषयमा कुनै द्विविधा नरहेको भन्दै प्रतिबद्धता जनाए्। यद्यपि बागमती प्रदेश सरकारले यसअघि नै १०० शय्याको जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरिसकेको छ ।

उनले शिक्षा र स्वास्थ्यको अभावका कारण कुनै पनि नागरिक समस्यामा नपरोस् भन्नेमा जोड दिँदै स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिक रहने भएकाले यसको भूमिका प्रभावकारी हुने बताए। गणतन्त्र गरिब, विपन्न, बालबालिका र ज्येष्ठ नागरिकको हितका लागि हो,भन्दै उनले स्वास्थ्य सेवामा यी वर्गलाई प्राथमिकता दिन अस्पताललाई आग्रह गरे।

अवलोकनका क्रममा मुख्यमन्त्री बानियाँले अस्पतालले प्रदान गर्दै आएका सेवाबारे जानकारी लिएका थिए। अस्पतालको गुणस्तरीय सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै उनले नगरप्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापा लाई विशेष धन्यवाद दिएका छन्।

नगरप्रमुख कार्कीले प्रदेश सरकारबाट बजेट प्राप्त हुनेबित्तिकै अस्पताल विस्तारको काम अघि बढाइने जानकारी दिए। उनले अस्पताललाई १०० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँदै अपरेशन थिएटर र आईसीयू सेवा समेत सञ्चालन गर्ने योजना रहेको बताए। हाल बर्थिङ सेन्टरमार्फत सयौं महिलाले सुरक्षित सुत्केरी सेवा लिइरहेको उनको भनाइ छ।

महिलाको पाठेघरसम्बन्धी शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल विस्तार आवश्यक रहेको उनले बताए। साथै, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, खानेपानी र खेलकुदलाई प्राथमिकतामा राख्दै नगरको समग्र विकास अघि बढाइएको मुख्यमन्त्री समक्ष जानकारी गराए ।

उपप्रमुख थापाले स्वास्थ्य चौकीबाट सुरु भएको संस्थालाई नगर अस्पतालको रूपमा विकास गरिएको उल्लेख गर्दै अन्य स्थानीय तहका अस्पतालभन्दा सेवा स्तर राम्रो रहेको दाबी गरिन्।

उच्चस्तरीय अवलोकन तथा सुपरिवेक्षण कार्यक्रममा  बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ तथा स्वास्थ्य मन्त्री किरण थापा मगर को पनि उपस्थिति रहेको थियो। उनीहरूले अस्पतालको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

हाल अस्पतालमा हाडजोर्नी, ईएनटी, जनरल फिजिसियन, ओपीडी लगायतका सम्पूर्ण सेवा उपलब्ध छन् भने २४ सै घण्टा आपत्कालीन सेवा सञ्चालन छ।अस्पतालले हाल ३५ बेडमार्फत सेवा दिँदै आएको छ।