गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिएका हुन्।
यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकाश पाएका थिए ।
नवनियुक्त महानिरीक्षक पौडेलको परिचय
सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक पौडेलले २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । उनी सशस्त्र प्रहरी बलमा २०५८ सालमा स्थान्तरण भएका थिए।
सुर्खेतको साबिक जर्बुटा गाविस वडा नं ५ निवासी पौडेलले स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । उनले नेपाल प्रहरीबाट करियर प्रारम्भ गरी सशस्त्र प्रहरी बल नेपालमा स्थान्तरणपश्चात् विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन् ।
नेपाल प्रहरीमा रहँदा उनले रोल्पा ‘स्ट्राइकिङ’ टोली कमान्डरका रुपमा तत्कालीन संवेदनशील सुरक्षा अवस्थामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गरेका थिए । साथै उनले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापाको प्रमुख भई शान्ति सुव्यवस्थालगायत सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गरेका थिए।
त्यस्तै, सशस्त्र प्रहरी बलमा स्थानान्तरणपछि महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी नायब उपरीक्षक रहँदा सुरक्षा बेस तुल्सीपुर दाङमा प्रमुख रही शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले सशस्त्र प्रहरी उपरीक्षक दर्जामा सीमा सुरक्षा कार्यालय बर्दिया, नीलबाराही गण र बङ्गलामुखी विशेष कार्यदल गणको गणपति भई नेतृत्व प्रदान गरेका थिए।
पौडेलले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनी पकली र सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ वाहिनीमा सहायक वाहिनीपतिका रुपमा उत्कृष्ट समन्वय र सहकार्य गरी उच्च व्यावसायिकता प्रदर्शन गरेका थिए ।
सशस्त्र प्रहरी नायब निरीक्षक रहँदा वाहिनीपतिका रुपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा नेतृत्व प्रदान गरेका उनले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा मानवस्रोत, सीमा तथा कार्य विभागका विभागीय प्रमुखका रूपमा रणनीतिक तथा नीतिगत निर्माण र कार्यान्वयनमा अहम् भूमिका निर्वाह गरेका थिए । उनले अन्तरराष्ट्रियस्तरमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा करिब २५ महिना सफलतापूर्वक सेवा प्रदान गरेका थिए ।