
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक जस्ताकोतस्तै सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मङ्गलबार जारी गरेका हुन्।
मन्त्रिपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । प्रधानमन्त्री वालेन्द्र शाहले विगतमा संसद्ले पारित गरेको विधेयक भन्दा फरक खालको भएको तर्क गर्दै यथावत् रुपमा जारी गर्न पत्र पठाएपछि राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका हुन् ।
जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ ।अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ ।योसँगै सरकारबाट सिफारिस भएका आठै अध्यादेश राष्ट्रपतिबाट जारी भएको छ।
