सिन्धुली, वैशाख २४ :

सिन्धुलीमा जन्ती बोकेको बोलेरो (जिप) दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। बिहीबार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको बोलेरो जिप दुधौली नगरपालिका–१ राँगेस्थित सडकखण्डमा दुर्घटनामा परेको हो।

तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। 

घाइते हुनेहरूमा फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ६० वर्षीय साने विक, ४० वर्षीय सोमबार नेपाली तथा तीनपाटन गाउँपालिका–१ का २१ वर्षीय श्याम दुराल रहेका छन्।  बेहुला सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ।

घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। योगबहादुर खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ भने अन्य घाइतेहरूको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ।