
काठमाडौंको ठमेलस्थित छाँयादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छाँयादेवी कम्प्लेक्स बनाइएकाले अबिलम्व भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सर्वजनिक कायम गरौं, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरु एक होऔं, सम्पदा मास्न पाइदैन लगायत लेखिएका प्लकार्ड प्रदर्शन गरेका थिए । ऐतिहासिक महत्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए । उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दबाब दिने जनाएका छन् ।