
वसन्त ऋतुको आगमनसँगै काठमाडौंका सडक, पार्क र सार्वजनिक स्थानहरू अहिले ‘जाकारान्डा’ले सजिएका छन्। ढकमक्क फुलेका बैजनी फूलहरूले सहरको रूप नै फेरिएको छ। यही मनमोहक दृश्य सिर्जना गर्ने फूलको नाम हो ‘जाकारान्डा’।
आज यो फूल नेपालका धेरै शहरमा सजावटी बोटका रूपमा रोपिएका छन्। अहिले नारायणहिटी दरबारमार्ग, घण्टाघर, रत्नपार्क, टुँडिखेल, भद्रकाली, सुन्धारा, सातदोबाटो, शङ्खधर उद्यान, गौशाला तथा सिंहदरबार आसपासका क्षेत्रमा ढपक्क फुलेका देखिन्छन् ।
आजकल काठमाडौं मात्र होइन, धरान, चितवन, भैरहवा लगायतका शहरी क्षेत्र, विश्वविद्यालय परिसर, पार्क तथा बगैँचाहरूमा पनि जाकारान्डा रोप्ने चलन बढ्दै गएको छ। यसको आकर्षक सौन्दर्यका कारण यसलाई प्रेम, रोमान्स र प्राकृतिक सौन्दर्यसँग जोडेर हेरिन्छ। अझ, हावाले फूल झार्दा सडकभरि बैजनी गलैँचा बिछिएजस्तो दृश्य देखिन्छ। यस्तो लाग्छ, मानौँ निलो आकाश नै भुइँमा झरेको हो। जाकारान्डालाई ‘रङको जादु’ वा “निलो सपनाको फूल” भनेर पनि वर्णन गरिन्छ।
जाकारान्डा नेपालकै मौलिक वनस्पति भने होइन। यो एक विदेशी तथा सजावटी रूख हो । यसको उत्पत्ति दक्षिण अमेरिकाका अर्जेन्टिना, ब्राजिल र बोलिभियामा भएको मानिन्छ। यो विश्वका विभिन्न देशहरू हुँदै नेपालसम्म फैलिएको हो।
नेपालमा जाकारान्डा कहिले र कसरी भित्रियो भन्ने ठ्याक्कै आधिकारिक अभिलेख भने भेटिँदैन। तर विभिन्न स्रोतहरूमा राणाकालको समयमा विदेशी सजावटी बोटबिरुवासँगै यो नेपाल ल्याइएको उल्लेख पाइन्छ। तत्कालीन राजा वीरेन्द्रले विदेशबाट यसको बिरुवा ल्याएका कारण यसलाई कतैकतै यसलाई ‘वीरेन्द्र फूल’ भनेर पनि चिनिन्छ। अर्को विश्वास अनुसार भारतमा काम गर्ने नेपाली लाहुरेहरू वा विदेशी बगैँचा संस्कृतिबाट प्रभावित व्यक्तिहरूमार्फत यो फूल नेपाल भित्रिएको हुन सक्छ। जे जसरी आएको भए पनि आज जाकारान्डाले काठमाडौंको सौन्दर्यलाई विशेष पहिचान दिएको छ।
जाकारान्डाको उचाइ सामान्यतया १० देखि २० मिटरसम्म पुग्न सक्छ। यसलाई भँगेरी फूल, निलमोहर तथा निलो शिरिषका नामले समेत चिन्ने गरिन्छ। जाकारान्डा मुख्य रूपमा वैशाख–जेठ महिनामा फूल्छ। नेपाली नयाँ वर्षकै समयमा यसको फूल फुल्ने भएकाले यसलाई नयाँ जीवन, आशा र खुसीको प्रतीकका रूपमा पनि लिइन्छ।जब यी रूखहरू एकैपटक फूल्छन्, शहर नै बैजनी रंगमा रंगिएको अनुभूति हुन्छ। सडक, पार्क र बगैँचाहरू एकाएक चित्रकलाजस्ता देखिन थाल्छन्।
जाकारान्डा केवल एउटा फूल होइन, यो एउटा अनुभूति हो। जब यो पूर्ण रूपमा फुल्छ, सहर नै प्रेममा परेको जस्तो देखिन्छ। आजभोलि यो फूल फोटोग्राफर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको अत्यन्त प्रिय बनेको छ।